परिचय

                                                                             हार्दिक अनुरोध
आदरणीय गर्गगोत्री आचार्यबन्धु !

   यहाँहरूको सदिच्छा, शुभकामना, सहयोग तथा सक्रियताकै फलस्वरूप आज गर्गगोत्री आचार्य समाज आफ्नो गन्तव्यतर्फ सतत क्रियाशील रहेको छ । वि.सं. २०४७ सालमा स्थापना भएको ‘गर्गगोत्री आचार्य समूह’ द्वारा झन्डै डेढ दशकको निरन्तर सङ्कलन, अध्ययन, अनुसन्धानपछि ‘गर्गगोत्री आचार्य वंशावली’ प्रकाशन हुनपुगेको सर्वविदितै छ । त्यसपछि २०६२ साल जेठ ९ गते मङ्गलपुर, आनन्दपुर, चितवनस्थित ‘ॐ गर्गेश्वर मन्दिर’ मा भएको राष्ट्रिय भेलाबाट ‘गर्गगोत्री आचार्य समूह’ ‘गर्गगोत्री आचार्य समाज’ मा रूपान्तरण भएको हो । ‘आत्मनिष्ठा, आत्मगौरव र आत्मप्रतिष्ठाका लागि गर्गगोत्री आचार्य समाज’ मनसा, वाचा, कर्मणा समर्पित रहेको छ । 
‘क्वाहं कोऽहं कुलं किंमे सम्बन्ध कीदृशो मम । 
स्व स्वधर्मो नलुप्यते तह्र्येदं चिन्तयेद्बुधः ।।’ 
स्कन्दपुराण सह्यादिखण्डमा उल्लिखित उक्त अंशको तात्पर्य अनुसार म कहाँबाट आएको हुँ ? म को हुँ ? कुन वंशसँग मेरो सम्बन्ध छ ? जस्ता विषयमा जानकारी राखिएन भने आफ्नो कुलधर्म लोप हुने डर रहन्छ, त्यसैले स्वधर्म रक्षाखातिर ज्ञानीजनले कुलधर्मलाई जान्नैपर्दछ । यही पुख्र्यौली धर्म, संस्कृति, इतिहास आदि पहिल्याउने दिशामा गर्गगोत्री आचार्य समाज अग्रसर छ । 
वंशावली
छोरी, बुहारीको नाम समेत समेटी ‘गर्गगोत्री आचार्य वंशावली’ को नवीन संस्करण प्रकाशन गर्नेतर्फ यो समाज सक्रिय रहेको छ । यस काममा सबैतिरबाट उत्तिकै सहयोग जरुरी छ । आउँदो संस्करणमा कुनै पनि बन्धु छुट्नै नहुनेमा दुईमत रहोइन । छोरी, बुहारीका नाम समेत अनिवार्य रूपमा समेट्ने प्रयास रहेकाले यहाँको सहयोग अत्यावश्यक छ ।
गुरुयोजना÷निर्माण कार्य
देश, विदेशमा छरिएर रहेका आचार्यबन्धुलाई एकताको सूत्रमा गाँस्दै पुख्र्यौली गौरवशाली परम्परालाई अक्षुण्ण राख्ने दिशामा समर्पित गर्गगोत्री आचार्य समाज यतिखेर अनेक निर्माण कार्यमा व्यस्त रहेको छ । 
पवित्र, पावनभूमि देवघाटधाममा गुरुयोजना अनुरूप विभिन्न संरचना निर्माणका काम भएका छन् । 
समाजको पञ्चतत्वका रूपमा पाँचवटा महत्वपूर्ण अवयव रहेका छन् ः
१. गर्गाश्रम
२. यज्ञयागादि स्थल (पाञ्चायन मन्दिर र यज्ञमण्डप)
३. गार्गी स्मृति प्रतिष्ठान
४. गर्ग अनुसन्धान केन्द्र 
५. गर्ग उद्यान
उल्लिखित अवयवमध्ये गर्ग अनुसन्धान केन्द्रको मात्रै संरचना निर्माणको थालनी बाँकी छ । 
भूमिदान
देवघाटस्थित यस समाजको भूमि विस्तारका लागि थालिएको ‘भूमिदान महादान, समाजका लागि मेरो योगदान’ अभियान पनि सार्थक बनेको छ । गर्गगोत्री आचार्य समाजका नाममा झन्डै सात रोपनी जग्गा रहेकामा करिब साढे ६ आना भूमि थप भएको छ । यी सबै पुण्य कार्य बन्धुहरूका उदात्त हृदय र निरन्तर सहयोगले सम्भव भएका हुन् । 
चितवन, नवलपरासी तथा तनहुँ जिल्लाको सीमा क्षेत्रमा अवस्थित ‘देवघाट’ महत्वपूर्ण तीर्थस्थल हो । त्रिशूली (धर्मधारा), बुढी (यशोधारा), मस्र्याङ्दी (विश्वधारा), मादी (शीतप्रभा), मोदी (रत्नधारा), सेती (सुवर्णाभा) तथा काली (कृष्णाभा) को सङ्गगस्थल ‘देवघाटधाम’ को महिमा विशेष छ । यस्तो पतीतपावन सङ्गममा सबैलाई पायक पर्नेगरी देवघाटधाम ५, तनहुँमा गर्गगोत्री आचार्य समाजको केन्द्रीय कार्यालय रहनु गौरवको विषय बनेको छ ।
गुरुयोजना अनुसार योजनाबद्ध रूपमा अघि बढिएकाले उत्साहप्रद अवस्था रहेको हो । सबै बन्धुका तन, मन र धनबाटै यत्तिका काम सम्पन्न हुनसकेका हुन् । समाजको हरेक क्रियाशीलतामा यहाँहरूको अमूल्य सहयोग, सल्लाह, सुझाव र सक्रियता सदैव कायम रहोस् भनी हार्दिक अनुरोध गर्दछौं ।